




पूर्ण चौलागाईँ।
२७ औं भूकम्प सुरक्षा दिवस जुम्लामा प्रभात फेरि पछि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको छ। हरेक वर्ष माघ २ गते सो दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिएको छ।
अन्तरक्रिया कार्यक्रममा भुकम्पबाट हुने क्षतिलाई रोक्न भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिन सुझाव दिएका छन् । पछिल्लो समय बढ्दो भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै मानविय तथा भौतिक क्षति रोक्नका लागि भूकम्प प्रतिरोधी संरचना निर्माणमा जुम्लाका सरोकारवालाले जोड दिएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले पछिल्ला वर्षहरुमा कमजोर संरचनाका कारण भूकम्पमाबाट नेपालले ठुलो जनधनको क्षति व्यहोर्नु परेको बताए ।
उनले भने,’भूकम्प एक प्राकृतिक प्रकोप हो । आईसकेपछि न्युनिकरण र क्षति रोक्न मुस्किल हुन्छ । त्यसैले भूकम्पीय जोखिम न्यनिकरण गर्न हामीले भवन निर्माण आचारसंहिता पालना गरि संरचना निर्माण गर्ने,नीजि सार्वजानिक तथा सरकारी भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्ने नीति कार्यान्वयनमा जोड दिन जरुरी छ।’
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले २०७२ र २०८० सालको ठुलो भूकम्पले पूर्वतयारी तथा भूकम्प प्रतिरोधि संरचना निर्माणमा जोड दिनु पर्ने पाठ सिकाएको बताए । भूकम्पीय सुरक्षा तथा जोखिम र क्षति न्युनिकरणमा समेत पत्रकार नागरिक अगुवाहरुले आबश्यक सहयोग समन्वय गर्नु गर्नु पर्ने उनको भनाई छ ।
भूकम्पमा कमजोर संरचनाले ८० प्रतिशत क्षति
कमजोर संरचनाका कारण भूकम्पमा सबैभन्दा बढी भौतिक क्षति हुने गरेको पाइएको छ । नेपालमा २०७२ र २०८० मा गएको भूकम्पपछि गरिएको अध्यायननुसार नेपालमा ८० प्रतिशत क्षति कमजोर संरचनाका कारण हुने गरेको भेटिएको हो ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख राजेन्द्र खतिवडाले भवन निर्माण आचार संगिता बेगर निर्माण गरिएका कमजोर संरचनाकै कारणले नेपालमा भूकम्पबाट ८० प्रतिशत जनधनको क्षति हुने गरेको बताए ।
२७ औँ राष्ट्यि भूकम्प सुरक्षा दिवसको अबसरमा आयोजित अन्तरक्रियामा प्रस्तुती दिदैं आयोजना प्रमुख खतिवडाले भने,‘भूकम्प प्रतिरोधी संरचना नभएकै कारण भूकम्प र त्यसका पराकम्पनले संरचना भत्कीएर ८० प्रतिशत क्षति हुने गरेको छ । तत्काल स्वास्थ्य उपचारको अभावले ८ प्रतिशत,समयमै खोज तथा उद्दार नपाउनाले ८ प्रतिशत क्षति र अन्य ४ प्रतिशत गैर भूकम्पीय संरचनाका कारण क्षति हुने गरेको छ ।’
भूकम्पबाट क्षति कम गर्न,जोखिमबाट बच्ने उत्तम विकल्प भनेकै मजबुद संचरना बनाउनु हो । भवन निर्माण आचार संगिताको पालना गर्नु । हो भने अनिवार्य घरनक्सा पास गर्नु हो । तर हाम्रो समुदायले यस विषयमा ख्याल गरेको छैन् । भने सरकारी तवरबाट पनि प्रयाप्त सचेतना नपुगको उनको भनाई छ ।



