पूर्ण चौलागाईँ,जुम्ला
प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले विवास्पद अभिव्यक्ति नसच्चाए प्रतिवाद गर्ने नेकपा माओवादी केन्द्रले चेतवानी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रेस विज्ञाप्ति जारी गर्दै सांसद शाहीलाई विवास्पद अभिव्यक्ति नसच्चाए प्रतिवाद गर्ने चेतवानी दिएको हो ।
सांसद शाहीले जनप्रतिनिधिलाई गालीगलोजप्रति नेकपा माओवादी केन्द्र जुम्लाले आपत्ति जनाएको छ । जनप्रतिनिधिलाई साँढेको उपमा दिदै बाबुको तलव खाएको जस्ता निस्कृठ अभिव्यक्ति दिएर मापर्दन गरिएको भन्दै आपत्ति जनाएको हो ।
सांसद शाहीले विभिन्न सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति माओवादीको ध्यानाकर्षण भएको जनाएको छ । माओवादीले शाहीमाथि संविधान विरोधी, तथ्यहीन र अश्लील टिप्पणीहरू गर्दै सामाजिक सद्भावमा खलल पु¥याउने आरोप लगाएको छ ।
नेकपा माओवादी केन्द्र जुम्लाका जिल्ला संयोज नवराज न्यौपानेद्वारा जारी विज्ञप्तिमा शाहीले सिंजा सभ्यता विधेयकको विषयमा झुठो प्रचार गरेको उल्लेख गरिएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक–पटक ‘हत्यारा’ को संज्ञा दिएको, जनप्रतिनिधिप्रति अपमानजनक टिप्पणी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता जिल्लाका गौरवमय संस्थाप्रति जनताको अनास्था बढाउने प्रयास गरेको, र सार्वजनिक समारोहमा अश्लील शब्दावली प्रयोग गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, शाहीले सिंजा सभ्यता विधेयकका सम्बन्धमा गलत प्रचार गरिएको छ । विधेयकलाई क्याबिनेटमा शैद्धान्तिक सहमति भएको तथ्यलाई झुठो भनेका छन् र यसलाई अफवाहको रूपमा फैलाउने प्रयास गरेका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाजमा अनावश्यक नकारात्मकता फैलाउँदै स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबल गिराउने टिप्पणी गरेका छन् ।
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले पत्रकार सम्मेलनमा भने सांसद शाहीको गैरसंवैधानिक र विवादास्पद अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । गैरजिम्मेवार अभिव्यक्ति सच्चाईएन भने प्रतिवाद गर्ने जनशक्ति जिल्लामा प्राप्त छन् ।
विवादास्पद गतिविधि नरोकिए पार्टीले कडा कदम चाल्ने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, कडा प्रतिवादमा उत्रिने र उपत्पन्न हुने परिस्थितिको जिम्मेवार सांसद शाही हुने छन् ।