
विजय रावत,
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । अशक्त र ज्येष्ठ नागरिकको सहजका लागि पालिकाका आठवटै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको कनकासुन्दरी गाउँपालिका– १ का वडाध्यक्ष भिम भण्डारीले जानकारी दिनुभयो ।
पालिकाले गत आव २०८०।८१ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागि कुमारी बैंकसंग समन्वय गरेर पालिका कर्मचारीको उपस्थितिमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाउने सबै लाभग्राहीलाई वितरण गरेको वडाध्यक्ष भण्डारीको भनाइ छ ।
गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राहीलाई राहत भएको हो । पहिले त वृद्धा भत्ता लिनका लागि बैंकसम्म धाउनुुपथ्र्ये अब आफ्नो वडाबाटै सेवादिन थालेको गाउँपालिका अध्यक्ष दामोेदर प्रसाद आचार्याले जानकारी दिनुभयो । गाउँपालिकाले सामजिका सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपांगता भएका व्यक्तिहरु, एकल महिलालगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताउनुभयो ।
बैंक तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले गाउँपालिकाका सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ । बर्खाको समयमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि पालिकाका अशक्त र ज्येष्ठ नागरिकहरुले राहतको महसुस गर्दै खुशी भएका छन् ।
सामाजिक सुरक्षा भत्ताका लागि असाहय तथा ज्येष्ठ नागरिकहरु बैंकसम्म पुग्न हैरानी खेप्नुपरेको भन्दै गाउँपालिकाले बैंकसँग समन्वय गरी वडाबाटै सामजिक सुरक्षा भत्ता वितरण गरेपछि यहाँका अशक्त र ज्येष्ठ नागरिहरुलाई निकै नै राहत भएको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।





हाम्रो कर्णाली । १२ श्रावण २०८१, शनिबार १५:२४