विकास निर्माणलाई तिव्रता दिदै ऐन, कार्यविधि, निर्देशिका पारित

जुम्लाको तिला गाउँपालिकाले नियमित हिउदे गाउँसभा मंगलबार सम्पन्न भएको छ । सम्पन्न हिउदे गाउँ सभाले ऐन, कार्यविधि र निर्देशिका पारित गरेको हो ।
शिक्षा ऐन संशोधन, भौगोलिक विषेश क्षेत्र ऐन २०७९ हिउदे गाउँ सभाबाट पारित भएको हो ।
अनुगमन तथा सुपरीवेक्षण कार्यविधि २०७९, स्थानीय पूर्वाधार मर्मत संभार कोष तथा कार्यसंचालन कार्यविधि २०७९, विषयगत समिति कार्यसंचालन कार्यविधि २०७९, आपतकालिन कार्यसंचालन केन्द्र कार्यविधि २०७९, विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७९ र स्थानीय पूर्वाधार विकास आयोजना संचालन कार्यविधि २०७९ पारित भएको छ ।
वातावरणीय तथा सामाजिक जोखिम प्रभाव अध्यायन निर्देशिका हिउदे गाउँ सभाबाट पारित भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन विष्टले बताए ।
सेवा प्रवाहलाई चुस्त बनाउनका लागि पालिकाका सबै वडाकार्यालय र विषयगत शाखाका कर्मचारीलाई निर्देशित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिए । कर्मचारीले ढिलासुस्ती र सेवाग्राहीलाई सास्ती हुने गरि काम गरेको भए सिधै खबर गर्न सबैलाई अनुरोध उनको भनाइ छ ।

गाउँसभामा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले भनिन् कार्यसम्पादन गर्नका लागि हामीलाई ऐन, नियम, कार्यविधि र निर्देशिका आवश्यक पर्दछ । आवश्यक नीति नियम हिउदे गाउँसभाले पारित गरेको छ ।
गाउँपालिकाका जन प्रतिनिधि, कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा इमान्दारीताका साथ खटेर काम गर्न उनले निर्देशन दिइन् । संघीयताको मर्मअनुसार जनताको हक अधिकारलाई स्थानीय तहमै सुनिश्चित गर्नको लागि आफुहरु लागि परेको बताउँदै उपाध्यक्ष बुढाले दिर्घकालिन बिकास निर्माणका कामलाई अगाडि बढाएको बताइन् ।
पालिकाको कृषि, पर्यटन क्षेत्रको मेरुदण्ड भएकाले यसलाई अगाडी बढाउन सबैको सहयोग आवश्यकता रहेको उपाध्यक्ष बुढाले बताइन् । उनले भनिन्, ’गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेटबाट नुवाकोट लिफ्ट सिंचाइ योजनाको ८२ लाख, भौतिक पुर्वाधार मर्मत संभार कोषका लागि छुटाएको ४५ लाख र तिला साना जलविद्युत पेनस्टिक पाइप खरिदका लागि ५६ लाख ५७ हजार गरि जम्मा १ करोड ८३ लाख ५७ हजार बजेट हालसम्म खर्च हुन नसकेकोले हिउदे गाउँसभाबाट सो बजेट पालिकाको १ देखि ९ वडासम्म विभिन्न योजना तथा कार्यक्रम छनौट गरि बजेट विनियोजित भएको छ ।’
खर्च हुन नसकेको बजेट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनामा हिउँदे गाउँसभाबाट बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
बालविवाह मुक्ता वडा घोषणा गरिदै
जुम्लामा उमेर नपुगेरै वालविवाह गर्ने चलन भएको छ । यो सामाजिक अपराध नै हो । तर पनि गाउँ घरमा यस्ता घटना हुने गरेका छन् । वालविवाह विरुद्ध सामाजिक जागरण गर्दै वालविवाह गर्नेलाई कानुनी कारवाही गर्नका लागि प्रहरीमा पठाउने गरिएको छ । वडा नं ६ लाई बालबिवाह मुक्त घोषण तथा बालमैत्री वडा घोषणा गर्नका लागि बजेट ब्यबस्थापन भएको वडाध्यक्ष जंगबहादुर रोकायाले बताए । वडामा स्तनपान कक्ष र हेल्पडेक्स स्थापन गरिने सो वडाले जनाएको छ ।
जिल्ला समन्वय समितिका सदस्य पदमबहादुर रावतले शिक्षा क्षेत्रमा राजनीति भएकोले यसको अन्त्य गरेमात्र गुणस्तरीय शिक्षा प्रदान हुने बताए ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले स्थानीय सरकार र मिडिया एक आपसमा सहकार्य समन्वयको माध्यमबाट जान जरुरी रहेको बताए । स्थानीय सरकारले मिडिया क्षेत्रमा बजेट छुट्टाउन आवश्यक रहेको उनको भनाइ छ ।

 




तपाईको प्रतिक्रिया