
विजय रावत,
जुम्ला । अविरल वर्षाबाट पाँचदिनदेखी पूर्णरुपमा बन्द भएको कर्णाली राजमार्ग एकतर्फी रुपमा संचालनमा आएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्र अन्तर्गत रहेको कर्णाली राजमार्गको दहिखोला,हुल्म बजारमा बाढी पहिरोले सडक पाँचदिनदेखि पूर्णरूपमा अवरोध भएको थियो । सडक हेभी इक्वीपमेन्ट डिभिजन नेपालगंजबाट खटाईएका मेसीन र सडक डिभिजन सुर्खेतबाट थप एकवटा मेसीन प्रयोग गरी मंगलबार दिउँसो साढे दुई बजेबाट राजमार्ग एकतर्फी रुपमा संचालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख चेतन कुमार मण्डलले जानकारी दिनुभयो ।
लगातार अविरल वर्षाका कारण प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सडकखण्ड अवरुद्ध भएका थियो । कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी कर्णाली राजमार्गमा सडक माथिबाट खसेको पहिराले कालिकोट र दैलेख जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो । रातभर मेसिनले पहिरो पन्छाइ एकतर्फी रुपमा अहिले यातायात संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मी र कार्यालयका कर्मचारीले काम गरेको सडक डिभिजन कार्यालय जुम्लाको जनाएको छ । राजमार्ग अवरुद्धहुँदा विचबटोमै सयौँ सवारी साधन र यात्रु रोकिएका थिए । सडक बन्दहुदाँ कर्णाली राजमार्ग भएर सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरु अलपत्र परेका थिए ।




हाम्रो कर्णाली । २५ असार २०८१, मंगलवार १६:२२