
जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका – ४ गिडीखोलामा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।
सरकारले औद्योगिक ग्राम स्थापना गरी युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने योजना अनुसार मुलुकभरका ८ वटा स्थानीय तहमध्ये जुम्लाको तातोपानी गाउँपालिका– ४ गिडीखोलामा छनोट भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।
स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका लागि सो औद्योगिक ग्रामको भुमिका हुने अध्यक्ष चौलागाईको भनाइ छ ।
आवश्यक चाहिने निश्चित मापदण्ड गरेर नेपाल सरकार, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले २०७९ भदौँ १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो ।
मन्त्रालयको जारी सूचनाको आधारमा चाहिने सबै प्रक्रिया पुरा गरी गाउँ कार्यापालिकाको निर्णयबाट गिडीखोलालाई छनौट गरी औद्योगिक ग्राम स्थापनाका लागी मन्त्रालयमा प्रस्ताव पेश गरेको वडाध्यक्ष अमर रोकायाले बताए ।
सो वडाको रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल सरकारकोे मन्त्री परिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित भएको वडाध्यक्ष रोकायाले जानकारी दिए ।
स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाको भनाई छ ।
नेपाल सरकारको मन्त्रिपरिषद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम निर्माणको बारेमा प्रस्ताव राखेपछि सरकारको तर्फबाट स्वीकृत गरेको हो ।
सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम संचालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीय स्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ ।




हाम्रो कर्णाली । १३ फाल्गुन २०७९, शनिबार १६:४१