जुम्ली किसानलाई मार्सीधान रोपाइँ भ्याइनभ्याई

 


जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा उत्पादनहुने मार्सीधानको रोपाइँ यो याममा यहाँका किसानलाई भ्याइनभ्याई भएको छ । जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको यामसुरु भएपछि यहाँका किसानलाई खेतवारीमा धान रोप्न रातदिन व्यस्तहुने गरेको तातोपानी गाउँपालिकाका स्थानीयवासि लक्ष्मी कार्कीले जानकारी दिनुभयो ।
जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी बताउँछन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सीधान रोपाइँप्रति आकर्षित हुन थालेको जुम्ला बजारमा रहेको रारालिही अर्गानिक पसलका संचालक अर्जुन बुढाले जानकारी दिनुभयो ।
जुम्लामा उत्पादनहुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जानएको छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सीधाने रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।
जिल्लाको प्रसिद्व मन्दिर चन्दननाथ, भैरवनाथ मन्दिरको नाममा रहेको शेरा ज्युलोमा मार्सीधान रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताउनुभयो ।
पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो । अहिले त्यो प्रचलन हराउँदै गएको छ । पहिले रोपाइँ गर्नको लागि जिल्लाका विभिन्न ठाउँका मान्छेहरु आएर चन्दननाथ बाबाको शेर ज्युलोमा रोपाइँ गर्ने गरेको अध्यक्ष थापाको भनाइ छ । चन्दननाथ बाबाको शेरा जिउँलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सीधान रोप्ने गरिन्छ ।
जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा दुई हजार आठ सय पाँच हेक्टरमा धानखेती हुन्छ ।
सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सीधानको खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । सरकारले मंगलबार संघीय सभामा प्रस्तुत गरेको बजेटमा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान करिडोर विकास गर्नका लागि नयाँ परियोजना समेत समेटेको छ ।विजय रावत

तपाईको प्रतिक्रिया