तिलामा निःशुल्क स्वाथ्य शिविर, ३०४ जनाको स्वाथ्य परीक्षण

पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको तिला गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ।तिला ९ मानेचौरमा उक्त शिविर भएको हो। सो शिविरमा ३०४ जनाको स्वास्थ्य परीक्षण गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले बताइन्। तत्कालीन घोडेमहादेव र मालिकाठाटा गाविसका ६, ७, ८ र ९ वडा जुम्लाकै दुर्गम क्षेत्र हुन् । जुन क्षेत्र अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । त्यो ठाउँमा हरेक सेवासुविधाको असुविधा रहेको छ । जसका कारण पटक—पटक गरिने शिविरमार्फत त्यहाँका नागरिकले सेवा लिने गरेका छन् । तिला गाउँपालिका जुम्लाले दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्नका लागि ‘जनतासँग उपाध्यक्ष कार्यक्रम’अन्तर्गत दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको उपाध्यय बुढाको भनाई छ। तिला गाउँपालिका स्वास्थ्य शाखा खोप फोकल पर्सन उत्तम देवकोटाका अनुसार शिविरबाट स्त्रीरोग सम्बन्धि सेवा उपलब्ध गराउने उद्देश्य भएपनि हाडजोर्नी तथा नशा सम्बन्धि सेवासहित अन्य सेवा पनि प्रदान गरिएको छ । ९ जना महिलाको पाठेघरमा रिङ राखिएको छ,’ उनले भने, ‘त्यस्तै तीन जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको छ ।’ शिविरबाट २१ जनाले हाडजोर्नी तथा नसा सम्बन्धि सेवा र ११५ जनाले अन्य सेवा लिएका छन् । स्त्रीरोग सम्बन्धि सेवा लिन आएका १६८ जना महिलामध्ये ९० जनाको पाठेघरको भीआईएसमेत परीक्षण गरिएको खोप फोकल पर्सन देवकोटाले बताए ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...