काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। द्विपक्षीय ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको हो।
द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरे।
आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्नेछ। सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिए, कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्नेछन्य । यस्तै एचआइडिसिएलले चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड लगानी गर्नेछन्। यो आयोजना निर्माणका लागि २३ अर्ब लाग्ने अनुमान गरिएको छ। जसमध्ये करिब १६ अर्ब ऋण र सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ।