जुम्लामा क्षयरोगका बिरामी घट्दो

जुम्ला । जुम्लामा पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दोक्रम रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीन जनाको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
चन्दननाथ नगरपालिका दुई जना र पातारासी गाउँपालिका भित्रका एक जनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गतवर्ष जुम्लामा ५३ जना महिला र ५३ जना पुरुषमा क्षयरोग देखिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ जना पुरुष र २४ जना महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ । दुई हप्ता भन्दाबढी खोकि लागेमा क्षयरोगहुन सक्छ । खोग्दा या हाच्छयुँ गर्दा क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले कुनै लक्षणदेखा परेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क जाँच गर्न सकिन्छ ।

क्षयरोग श्वासप्रश्वासको माध्यमबाट पनि सर्दछ । एचाई भि र सुगर रोग भएका विरामीलाई क्षयरोगले छिटो संक्रमणहुने गरेको छ । श्वास–प्रश्वास, खोक्दा, हाच्छयुँ गर्दा, जहाँ पायो त्यहि थुक्दा, बोलचाल गर्दा क्षयरोगका जिवाणु हवाका माध्यमवाट स्वस्थ्य व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सूर्तिजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्ने सकिने र स्थानीय तहले गाउँ केन्द्रित क्षयरोगको शिविर संचालन गर्न आवश्यक रहेको छ । जनस्वास्थ्य कार्यालयले स्थानीय तहसंग सहकार्य गरेर क्षयरोग पुरै रोकथाम गर्नेका लागि जनचेतनाका कार्यक्रम र स्वास्थ्य जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य परामर्श गर्न आवश्यक रहेको जिसस प्रमुख आचार्यले जानकारी दिनुभयो । क्षयरोग रोकथाम गर्नका लागि संचार क्षेत्रको महत्वपूर्ण भुमिका रहेको छ ।

आवश्यक सचेतनाका कार्यक्रम संचारका माध्यमबाट सहज रुपमा प्रकाशन र प्रसारण गर्न सकिने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले जानकारी दिनुभयो । चैत ११ गते परेको क्षयरोग दिवसको अवसरमा जिल्लास्थित पत्रकार तथा सरोकारवालासँग शनिबार अन्तरक्रिया कार्यक्रम गरेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । विजय रावत



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...