
पूर्ण चौलागाईँ जुम्ला।
जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्म संचालनहुने जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियाेगिता आगामी २०८१ वैशाख महिनाको १ गतेदेखि संचालन हुने भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाले साेमबार जिल्ला स्थित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिँदै क्लबका अध्यक्ष सराेज शाहीले भन्नुभयो ,” ४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्याराथनमा स्वदेशी तथा विदेशी खेलाडीकाे सहभागी हुने भएको छ।” अहिले अनलाइनबाट खेलाडीले सहभागीका लागि आवेदन दिने व्यवस्था गरिएको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको हाे। याे पाँचौ म्याराथन प्रतियोगिता हो। यसअघि ०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो। कोरोना महामारीका कारण ०७७ मा सञ्चालन हुन सकेनन् ।समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन जिल्लाकाे डाँफे लेक, चुच्चेमारा लेकहुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा तालकाे छेउमा पुगेर खेल समाप्त हुने क्लबका अध्यक्ष शाहीको भनाइ छ। जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यवसायिक खेलाडीले पाँचदेखि सात घन्टामा पार गर्छन्। अनुमानित एक हजार बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा राखिएको छ। प्रथम हुने खेलाडीलाई एक लाख पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट १० खेलाडी पुरस्कृत हुनेछन्। म्याराथन सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरिएको छ। म्याराथनमा सहभागीहुने सार्कका धावकहरुले १४ हजार ५ सय , अन्य देशका धावकलाई १६ हजार र नेपाली धावकलाई ७ हजार आवेदन शुल्क ताेकिएकाे कर्णाली स्पोर्टस् क्लब जुम्लाले जनाएको छ। जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमि ,खुला ५ किमि ,बालबालिका स्तरीय १ किमि ,विद्यालय स्तरीय ५ किमि ,ज्येष्ठ नागरिक ,बुबा आमा दाैड १ किमि ,कर्मचारी स्तरीय ५ किमि र उद्योग तथा व्यापारी स्तरीय ५ किमि दाैड
प्रतियाेगिताहुने आयाेजकले जनाएको छ।




हाम्रो कर्णाली । ५ चैत्र २०८०, सोमबार १७:४८