जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका- ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएका सोही गाउँपालिका– ७ का बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासि हिउँमा फसेपछि हेलिकप्टरबाट उद्घार गरिएको छ। गत फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टर केन्द्रबाट माग गरि अहिले उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले जानकारी दिनुभयो ।
हिउँमा फसेर अलपत्र परेका आठ जनालाई सकुशल हेलिकोप्टरबाट उद्धार गरिएको छ । पालिका – ४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरुलाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेकाे भनाइ छ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्दार गरेको छ । उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका – ७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दले बताउनुभयो ।
सकुशल उद्धारपछि सबैको स्वास्थ्य जाँचका लागि अहिले नेपाली सेनाको एम्बुलेन्समा मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईकाे भनाइ छ।