
विजय रावत,
जुम्ला । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा बगैँचा व्यवस्थापन गर्न लागि परेको छन् । स्याउ किसानलाई थप प्रविधिक जानकारी दिनका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई स्याउ बगैंचा काँटछाटकाे जानकारी दिन थालेका छन् ।
कूषि विकास कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला गाउँपालिका – १ का स्याउ किसानका बगैंचा पुगेर बगैंचा काँटछाट तथा स्याउ व्यवस्थापन बारे जानकारी किसानलाई दिने गरेको कृषि विकास कार्यालय जुम्ला कृषि प्रविधिक सुष्मा बुढाले जानकारी दिनुभयो । किसानलाई बगैंचा काँटछाट तथा उपयुुक्त स्याउ व्यवस्थापन गर्न राम्रोसँग प्रविधिक जानकारी छैन । कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्रविधिक खटाएको छ। स्याउ किसानलाई राम्रोसँग बगैंचा काँटछाट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्रविधिक ज्ञान किसानलाई दिने गरेको कार्यालयका कृषि प्रविधिक बुढाको भनाइ छ।
यहाँको स्याउ किसान त्यतिबेला स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त हुने गरेको तिला -१ का स्याउ किसान परी रावलले बताउनुभयो ।स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन”, समयमै स्याउ काँटछाट गर्न लागि परेको छु । अहिले कृषि विकास कार्यालयबाटै प्रविधिक बगैंचामा पुगेर स्याउ काँटछाट गर्ने सिकाउनु भएको छ । स्याउ किसान रावतले भन्नुभयो ,” जिल्लामा खासगरी पुषदेखि माघको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगैँचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग गरेका छैन । ” अहिले कृषि प्रविधिकबाट बगैंचा काँटछाट तथा व्यवस्थापन गर्न किसानलाई थप प्रविधिक ज्ञानबारे जानकारी दिएकाले सहज भएको स्याउ किसान रावतकाे भनाइ छ।
स्याउका विरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका विरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानका बगैंचामै पुगेर स्याउ बगैंचाको व्यवस्थापन गर्न सिकाउन थालिएको छ।

कार्यालयको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अनुसार स्याउ बगैंचा व्यवस्थापन अन्तर्गत किसानलाई चुना र निलाथुतो पनि वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कृषि प्रविधिक बताउँछन् । जिल्लामा चार हजार २ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाई जुम्लाले जनाएको छ ।

हाम्रो कर्णाली । १४ माघ २०८०, आईतवार १२:२५