जुम्लाको तापक्रम माइनसमा

विजय रावत जुम्ला।

जुम्ला,२२ मंसिर ः जुम्लाको न्यूनतम तापक्रम माइनसयमा गएसंगै अत्यधिक जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार शुक्रबार जिल्लाको न्यूनतम तापक्रम –२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।
तापक्रम माइनसयम झरेसंगै जाडो निकै बढेको छ । विहान र बेलुका धैरै चिसोले घरबाट बाहिर निस्कन कठिन हुने गरेको चन्दननाथ नगरपालिका–४ का स्थानीयवासि सरीता न्यौपानले जानकारी दिनुभयो । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सख्या बढेको छ । अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक पुजन रोकायाको भनाइ छ ।
चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सख्या बढेका छन् । यो समयमा दैनिक दुई सय बढी जनासम्म बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेको कर्णाली स्वास्थ्य विज्ञानको नाम लेख्ने ओपिडि शाखाले जनाएको छ ।
लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्य चौकीमा इन्चार्ज कमल रावतले बताउनुभयो ।
चिसो ह्वात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानमा धैरै चिसो हुने गरेको छ । चिसोले सदरमुकाम खलङ्गामा चहलपहल घटेको छ । बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले जानकारी दिनुभयो । चिसोले घर बाहिर निस्किन सकिएको छैन । चिसोले गाउँबाट ट्युसन पढ्न बजार आएका विद्यार्थीलाई सकस भएको रत्न चुडेश्वर माध्यमिक विद्यालय कक्ष ११ मा अध्ययनरत विद्यार्थी विशेष बुढाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या गरेको यहाँका सामुदायिक विद्यालयहरुले जनाएकाछन् । चन्दननाथ नगरपालिका स्थानीयवासी सुनिता रावतका अनुसार न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने गरेको छ।




तपाईको प्रतिक्रिया