पातारासीमा घट्दै घरेलु हिंसा,वर्षमा ३ वटा उजुरीमात्रै दर्ता

पुर्ण प्रसाद चाैलागाई ,जुम्ला ।  जुम्लाकाे पातारासी गाउँपालिकाकाे न्यायीक सिमितमा गत वर्ष ३ वटा मात्रै उजुरी परेका छन् । गत आ.व २०७९/८० मा पालिकाकाे न्यायीक समितिमा ३ वटा उजुरी मात्रै परेकाे हाे ।

१ वटा जग्गा सम्बन्धि विवाद तथा २ वटा घरेलु हिंसाका उजुरी परेकाे पातारासीका उपाध्यक्ष तथा न्यायीक समिति संयाेजक जनमाया राेकायाले बताईन् । उनका अनुसार तीन वटै उजुरी फछ्र्याैट भईसकेका छन् ।

सामाजिक शक्तिकरण तथा विभिन्न खाले हिंसा न्युनिकरणका लागि पालिकाले थालेकाे घरदैलाे अभियान तथा जनचेतना मुलक कार्यक्रमले गर्दा पछिल्लाे समय पातारासीमा घरेलु हिंसाका घटना कम हुँदै गएका छन् ।

न्यायीक समितिकाे तथ्यांकले पनि महिलाहरु सक्षम तथा समाज चेतनशील हुद‌ै गएकाे देखिन्छ।

पालिकाका सात वटै वडाहरुका विभिन्न गाउँमा बालबिबाह ,घरेलुहिंसा ,बहुबिबाह,जातीय विभेद जस्ता विभिन्न कुरिती र कुसंस्कार विरुद्ध अभियान संचालन पश्चात् पातारासीमा सामाजिक कुरितिका घटना न्युनिकरण हुन थालेकाे न्यायीक समिति संयाेजक राेकायाले उल्लेख गरे ।

उनलेे भनिन,”हिंसा घट्नुका पहिलाे कारण चेतनाबृद्दि र दाेस्राे कारण महिला आफै सक्षम हुनु हाे । कृषि,जडिबुटि,तरकारी खेती पशुपालन लगायतका क्षेत्रका महिला सक्रिय छन् । आम्दानीसंग महिला प्रत्यक्ष जाेडिएका कारण महिला पुरुष भन्दा आर्थिक रुपमा सक्षम छन् । घरकाे आर्थिक काराेबार गर्दा पनि श्रीमानले श्रिमतीबाट पैसा माग्नु पर्ने स्थित आएकाे छ । याे पनि हिंसा घट्नुकाे कारण हाे ।”

पातारासीका महिलालाई विकास निर्माण संगै नेतृत्वमा समेत अग्रसर गराउने खालका कार्यक्रममा जाेड दिईने छ । भाैतिक विकासले मात्र समाज रुपान्तरण सम्भव नरहेकाेले अब सामाजिक बिकास तथा शसक्तिकरणलाई प्राथमिकतामा विभिन्न काम गरिने पातारासीकाे लक्ष्य छ ।

साथै घरेलु हिंसा घटाउन तथा कानुनी परामर्श दिन पालिकाका ७ वटै वडामा मेलमिलाप केन्द्र समेत गठन भई कार्यान्वयनमा छन् ।




तपाईको प्रतिक्रिया