सिँजाको नराकोटमा रैथाने बालीको खाना महोत्सव

सिँजाको नराकोटमा रैथाने उत्पादनको खाना महोत्सव भएको छ। रैथाने बालीको उत्पादनका परिकारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले मार्क्सवादी ज्ञान केन्द्र काठमाडौंको आयोजनामा  सोमबार सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको हो।

नराकोटमा आयोजित महोत्सवमा  गाउँपालिकाका ६ वटै वडाका सात स्टलमा स्थानीय खानाका परिकार राखिएको छ। कोदो, फापर, मकै, भटमास, चिनु, कागुनु र मकैका परिकार, खरायोको मासु स्टलमा राखिएका छन्।  महोत्सवको पहिलो दिन सिँजावासीले ​मौलिक खाना मात्र पस्केनन्, स्थानीय देउडा, झोडा, चुट्किला प्रदर्शन गरेर अवलोकनकर्तालाई मनोरञ्जन दिए।

केन्द्रका सचिव हुमनाथ न्यौपानेले सिँजाको मौलिक पहिचान देशका अन्य भागलाई साक्षात्कार गराउने र आयआर्जन बढाउने  लक्ष्यका साथ पहिलो सांस्कृतिक खाना महोत्सव गरेको जनाए। कार्यक्रमका संयोजक डाक्टर निमानन्द रिजालले जुम्लाको उत्पादन  मार्सी, सिमी, फापर र स्याउजस्ता रैथाने बालीलाई  यहाँको आम्दानीसँग जोड्नुपर्ने बताए।गाउँपालिका– २ का वडाध्यक्ष तीर्थ वडले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिने बताए।



तपाईको प्रतिक्रिया