
जुम्ला ः ४९ किलोमिटर चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनमा दलबहादुर कुवँर र मञ्जु रावत प्रथम भएका छन् । पुरुष तर्फ दल र महिला तर्फ मञ्जु प्रथम भएका हुन् । दलले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा ४९ किलोमिटर दुरी पारगरी प्रथम भएका हुन् । तेस्रो जुम्ला–रारा म्याराथनमा कुँवर दोस्रो भएका थिए ।
४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको ४९ किमी दुरी पार गरी शेर बहादुर बुढा तृतीय भएका हुन् ।
यसैबीच ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर बहादुर रावतले पाँचौ स्थान प्राप्त गरेका हुन् ।
चौथो अल्ट्रा म्याराथनको महिलातर्फको जुम्लाकै मञ्जु रावतले प्रथम भएकी छन् । निर्धारित दुरी ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा पार गर्दै मञ्जुले महिलातर्फको प्रथम प्रथम भएकी हुन् ।
६ घण्टा ५४ मिनेट २७ सेकेण्डमा दुरी पार गरेकी गंगा भण्डारी दोस्रो र ७ घण्टा ५ मिनेट ४६ सेकेण्डमा पार गरी अनिता बुढा तेस्रो भएकी छन् । ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डमा सो दुरी पार गदै उमाकली बुढा चौथौँ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसाबुुढा रोकायाले पाँचौ स्थान प्राप्त गरेकी छन् ।
४९ किलोमिटर जुम्ला–रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद १ लाख, ७५ हजार, ५० हजार र चौथौँ र पाँचौँ हुने खेलाडीले २०÷२० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीले समुद्रि सतहदेखि ३ हजार ६ सय मिटर उचाइमा दौडेका थिए । बिजेतालाई मंगलबार बिहान रारा तालको किनारमा औपचारिक कार्यक्रम गरी पुरस्कार प्रदान गरिएको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले बताए ।
कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने उद्देश्यसहित हरेक वर्ष कर्णाली खेलकुद क्लबले म्याराथनको आयोजना गर्दै आएको प्रशिक्षक हरिबहादुर रोकायाले बताए ।




हाम्रो कर्णाली । १२ बैशाख २०८०, मंगलवार १८:२६