हियाखोलाको लिफ्ट सिँचाई आयोजना पुन: संचालनमा

पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिका – ६ हियाखोलामा रहेको लिफ्ट सिँचाई आयोजना पुन: संचालनमा आएको छ । गाउँपालिकाले आयोजना मर्मतको लागि प्रथामिकता दिएर काम गरेपछि हाल लिफ्ट सिँचाई संचालनमा आएको पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए । पानी अभावले खेती योग्य जमिन बाँझिदै गएको,धान रोपेका खेतहरु चिरा परेको अबस्थामा तिलाबाट करिब दुई किलोमिटर मिटर उचाईमा रहेका हियाँखोला गाउँमा पानी पुर्याइएको र आयोजनालाई निरन्तरता दिन सोलार बाट संचालनमा ल्याइएको लिफ्ट सिँचाई आयोजनालाई चाडै विद्युतबाट संचालन गर्ने तयारी भईरहेको अध्यक्ष चौलागाईंको भनाइ छ । २०७९ सालको बाढी र पहिरोले सो आयोजनाको मुहान क्षेती  गरेको थियो।
२०७९ मा संघिय सरकारको ८८ लाख बढी लगानीमा निर्माण भएको उक्त लिफ्ट सिँचाई असोजमा आएको बाढीले क्षति पुराएको थियो ।
उक्त आयोजनाबाट हियाँखोला गाउँको करिब १४.४ हेक्टर धान खेती हुने जग्गा र करिब १६.६२ हेक्टर स्याउ खेती हुने जग्गामा सिँचाई सुविधा विस्तार हुने तातोपानी गाउँपालिकाका ईन्जिनियर डिल्ली बुढाले बताए ।


उनले भने,‘तिला नदीदेखि आर.भी.टी सम्मको उचाइ हेड २५० मिटर छ । तिला नदीदेखि हियाखोला ट्याङ्कीसम्मको दूरी जिआइ पाइप १७ सय ९५ मिटर छ । भने एचडीपिई पाईप २५० मिटर गरी कूल २ हजार ४५ मिटर लामो पाइप लाइनबाट हियाँखोलामा पानी पुराइएको छ । जसमा २० एचपीको पम्प प्रयोग भएको छ । अब हियाखोला गाउँले सिँचाई अभाव भोग्नु पर्ने छैन् ।’
तातोपानी गाउँपालिका लेखापाल शिवराज न्यौपानेले हियाखोला लिफ्ट सिँचाई आयोजनाका लागि २०७९ मा संघिय सरकार सर्शत अनुदान चालु तर्फ एक करोड विनियोजन भएको बताए । उनका अनुसार काम सम्पन्न भएपछि २०७९ असार २५ गते ८८ लाख ३३ हजार ७४० रुपैयाँ भुक्तानी भएको छ ।




तपाईको प्रतिक्रिया