पूर्ण चौलागाईँ।
जुम्लाको तातोपानी गाउँपालिका-४ मा रहेको पर्यटकीय स्थल गिडिदहलाई पर्यटकीय गन्तव्य बनाउन र संरक्षणका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेललाई तातोपानी गाउँपालिका -४ का वडाअध्यक्ष अमर बहादुर रोकायाले ज्ञापनपत्र बुझाएका छन् ।
कर्णाली प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थलहरूमा गिडिदहलाई लिइन्छ । समुद्र सतहदेखि करिब ३,४८५ मिटर उचाइमा रहेको यो दह घना जङ्गलले ढाकिएको छ र नेपालकै राष्ट्रिय झन्डाको आकारमा विभाजित छ। यो क्षेत्र नापजाँचका आधारमा कर्णाली प्रदेशका तालहरूमध्ये तेस्रो गहिरो दहको रूपमा चिनिन्छ।गिडिदहको प्राकृतिक र जैविक विविधता यसलाई एक अद्वितीय गन्तव्य बनाउँछ। यहाँ विष्टज्यू, बजेडीखोला, दुधवाडीखोला जस्ता स्रोतहरूले दहलाई जीवन प्रदान गर्ने कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ। दहको अधिकतम लम्बाइ १,५१० मिटर, चौडाइ ३१० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ। पानीको कुल आयतन ७३,५०,३२३,९९ घन मिटर छ भने गिडिदह विभिन्न प्रजातिका जडिबुटीहरू, रुखहरू, चराहरू र लोपोन्मुख जनावरहरूको पाइन्छन्। गिडिदह क्षेत्रका फुलचौल्या, लामाचौर र पानसय पाटन धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थानहरू मानिने वडा अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कँडेललाई बुझाएको ज्ञापनपत्रमा गिडिदह र जुम्लाका अन्य पर्यटकीय स्थलहरूको प्रवर्द्धन, संरक्षण र विकासको लागि समेत माग गरिएको छ।