
विजय रावत
जुम्ला । स्थानीय तहले असार १० गते बजेट ल्याइसक्नुपर्ने अन्तिम समय सिमा पनि हो । कानुनत प्रदेशले असार १ र स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । सोही ऐन अनुसार जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८१–८२ का लागि आज बजेट सार्वजनिक गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४७ करोड ४० लाख, चन्दननाथ नगरपालिकाले ६७ करोड १० लाख बजेट ल्याएको छ । सिंजा गाउँपालिकाले ४१ करोड २१ लाख बजेट ल्याएको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
तातोपानी गाउँपालिकाले ४९ करोड ४० लाख,गुठीचौर गाउँपालिकाले ४१ करोड १० लाख,हिमा गाउँपालिकाले ४९ करोड ४१ लाख,कनकासुन्दरी गाउँपालिकाले ५१ करोड २ लाख,पातारासी गाउँपालिकाले ४४ करोड ४९ लाख बजेट ल्याएको उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।
तिला गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक गोरीकला बुढाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्बाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । सुलभ स्वास्थ्य सेवालाई विस्तार गर्नेका लागि पालिकाको निर्माणधिन दश शैयाको अस्पतालको निर्माणलाई तीब्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कम्तीमा एक पटक पालिका स्तरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ । बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर र जेष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने नीति तथा कार्यक्रमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।
पालिकाले स्वास्थ्यसंगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । सीपमूलक र व्यवहारिक शिक्षा सहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन,जीवनउपयोगी शिक्षा,एक वडा एक खेलकुद मैदान निर्माण, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरुको सक्रिय सहभागिता लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश गरिएको तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।
पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पनि प्राथमिकताका साथ योजना ल्याएको छ । पालिकाले सेवा प्रवाहलाई जनताको घरदैलोमा पु¥याउनका लागि एकीकृत घुम्ती सेवा मार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा बिस्तार गर्दै लैजाने योजना तिलाले नीति तथा कार्यक्रममा उल्लेख गरेको तिलाले जनाएको छ ।
यहाँका स्थानीयले नीति तथा कार्यक्रम बजेटमा भौतिक पूर्वाधार निर्माण,कृषि, शिक्षा,स्वास्थ्य,पर्यटन,सामाजिक विकास,सामाजिक सुरक्षा तथा पंजीकरण,लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति,सहकारी,लद्यु विकास,सुशासन सार्वजनिक सेवा तथा क्षमता विकास, राजस्व तथा आन्तरिक स्रोत परिचालन लगायत क्षेत्रलाई विशेष प्राथमिकतामा जिल्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा उल्लेख गरेकाछन् ।




हाम्रो कर्णाली । १० असार २०८१, सोमबार २०:५३