
पूर्ण प्रसाद चौलागाई,
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा १२ करोडको लगानीमा १५ शैंयाको अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गत रहेको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि १५ शैंयाको अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्नका लागि संघीय सरकारले बजेट छुट्याएको छ । परम्परागत तर भरपर्दोे उपचार पद्धति आयुर्वेदको विकास गर्न सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको स्वास्थ्य विभागले कदम चालेको हो । नगर प्रमुख कठायतले भन्नुभयो,“ सबै डकुमेन्ट जुटाइ सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले ठेक्का आव्हान गरेको छ । ” बहुवर्षीय आयोजना अन्तर्गत बन्ने १५ शैंयाको आयुर्वेद अस्पताल बनाउन नयाँ आर्थिक वर्षको लागि ३ करोड रकम विनियोजित भएको नगर प्रमुख कठायतको भनाइ छ ।
स्रोत सुनिश्चितता नहुँदा ठेक्का खोल्न सकिएको थिएन् । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखासँगको निरन्तर समन्वयपछि ठेक्का खोल्न सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सुचना अधिकारी चन्द्र खड्काले बताउनुभयो ।
वहुवर्षीय ठेक्काको स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको हुनेछ । स्रोत सहमति प्राप्त भएको आयोजनाको आर्थिक वर्ष २०८०÷८१ को हकमा चैत्र मसान्तसम्म खरिद प्रक्रिया सुरु गरिसक्नुपर्ने प्रावधान अनुसार काम अगाडि बढेको आयोजनाका सुचना अधिकारी खड्काको भनाइ छ । घर आगनमै अस्पताल बन्न लागेपछि यहाँका स्थानीयवासिमा खुसी छाएकोे चन्दननाथ–१० का स्थानीय कमला सार्कीले बताउनुभयो । संघीय सरकारले बजेटमा १५ शैंयाको अस्पताल बनाउन लागेको चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले बताउनुभयो ।




हाम्रो कर्णाली । २३ चैत्र २०८०, शुक्रबार १८:३१