


जुम्ला । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो । उत्पादन क्षमता धेरै भए पनि कर्णाली प्रदेशबाट राष्ट्रिय प्रशारण ग्रिडमा ८ दशमलव २५ मेगावाट मात्र जोडिएको छ । हाल १० मेगावाट जलविद्युत आयोजना कर्णालीमा उत्पादन भइसकेको छ ।
कर्णालीका १० जिल्लाका ५७ प्रतिशत स्थानीयले मात्र विद्युत सेवा उपभोग गर्न पाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका सबै घरधुरीमा र कृषि, उद्योग जस्ता सेवा क्षेत्रमा विद्युतको माग पूर्ति गर्न प्रदेशभित्र निर्माणाधीन साना, ठूला जलविद्युत आयोजनाको कामलाई तीव्रता दिनुपर्ने मन्त्रालयका सिडिई शर्माले जानकारी दिनुभयो ।
सम्भाव्यता अध्ययनका लागि लाइसेन्स पाएका १९ जलविद्युत आयोजना कर्णालीमा छन । भेरी नदी जलविद्युत आयोजना एक सय ४० मेगावाट सहरतारा डोल्पा, माथिल्लो भेरी जलविद्युत आयोजना तीन सय १५ मेगावाट त्रिपुराकोट डोल्पा, ५७ मेगावाटको मुगु खोला जलविद्युत आयोजना मुगु, सात दशमलव १ मेगावाट ताक्सुगाड जलविद्युत आयोजना नलगाड जाजरकोट रहेका छन ।
त्यसैगरी अपर रुरु बन्छुखोला जलविद्युत आयोजना १९ दशमलव ६ मेगावाट चिलखाया कालीकोट, ७० मेगावाटको चुवाखोला जलविद्युत आयोजना बरुगङ्गा हुम्ला, एक सय ३५ मेगावाटको नाम्ला खोला जलविद्युत आयोजना मुगु, तीन सय ६ मेगावाटको अपर मुगु कर्णाली जलविद्युत आयोजनाले समेत सम्भाव्यता अध्ययनका लागि लाइसेन्स लिएका छन ।


हाल कर्णालीमा निर्माणाधीन जलविद्युत आयोजनाको सङ्ख्या २१ वटा रहेको विद्युत विकास विभागले जनाएको छ । ती जलविद्युत आयोजनामध्ये सबैभन्दा बढी साविकको कर्णालीमा छन ।सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा ३३ केभी प्रशारण लाइन विद्युत्को राष्ट्रिय प्रशारणमा जोडिसकेको छ । भने एक सय ३२ केभी प्रशारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल सुर्खेतसम्म मात्र निर्माण हुने एक सय ३२ केभी प्रशारण लाइन अन्य जिल्लामा पनि विस्तार गर्नुपर्ने माग छ ।






