पूर्ण चौलागाईँ जुम्ला।
चन्दननाथ नगरपालिकाले ५ वर्षे विद्यालय सुधार योजना निर्माण गरेको छ। नगरपालिका भित्रका माध्यामिक र आधारभूत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि र विध्यार्थीको सहभागितामा उक्त योजना निर्माण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथी चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले सामुदायीक बिद्यालयको स्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गरे। यस प्रकारको योजना निर्माणले विद्यार्थी संख्या बढाउने र चौतर्फी शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमूख कठायतले बताए।
वडा नं १ का वडा अध्यक्ष तिलक न्यौपानेले शिक्षाबिना विकासको परिकल्पना गर्न नसकिने हुँदा शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो।
४ दिनको तालिमको आयोजना गरी सो योजना निर्माण गरीएको चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले बताए। त्यही विद्यालयको लागि सोही बिद्यालयका प्रधानाध्यापक , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि र विध्यार्थीको सहभागितामा निर्माण गरिएको योजनाले शैक्षीक गुणस्तरमा थप टेवा पुग्ने शिक्षा शाखा प्रमुख चौलागाईँको भनाई छ।
जनज्योति माविका प्रधानाध्यापक तेज ब शाहीले योजना बिना कुनै पनि कार्यसफलता प्राप्त गर्न नसकिने भएको हुँदा यस्तो योजना अति आवश्यक रहेको औँल्याए। भगवती आधारभूत विद्यालय जातिभिडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कामीले यस योजनालाई विद्यालयमा पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने बताए।
तालिमको आयोजना नेपाल रेडक्रस सोसाइटी र चन्दननाथ शिक्षा शाखाले संयुक्त गरेका हुन्।