पातारासीका दुर्गम तीन वडा सञ्चार विहीन, सञ्चार सेवा सुधार्न ध्यानाकर्षण

messenger sharing button

जुम्ला । जुम्लाको पूर्वमा अवस्थित दुर्गम पातारासी गाउँपालिकाको उपल्लो क्षेत्र वषौँदेखि सञ्चार विहीन छ । उपल्लो क्षेत्रमा पर्ने दुर्गम वडा नं.१,२ र ३ का दर्जन बस्तीका झण्डै साढे ८ हजार नागरिक सञ्चार विहीन भएका हुन् । सङ्घीयतापछि पनि सञ्चार सेवाको विकासमा स्थानीय तहदेखि नेपाल टेलिकमले ध्यान नदिएको भन्दै पातारासीवासीले दुखेसो पोखेका छन् ।

जुम्लाको पूर्वस्थित दुर्गम पातारासी गाउँपालिकाको उपल्लो क्षेत्र वर्षौँदेखि सञ्चार विहीन छ । डिजिटल युगमा पनि खबर आदान प्रदान गर्न पातारासीवासी घण्टौँ हिँड्नु पर्ने बाध्यता छ । निर्माणाधीन टावर अलपत्रदेखि सञ्चालित इन्टरनेटले सेवाभन्दा सास्ती दिएको छ । पातारासीका दुर्गम १,२ र ३ नम्बर वडाहरूमा फोन समेत गर्न मुस्किल भएको पातारासीका स्थानीय अभियन्ता भक्त बहादुर बुढाले गुनासो पोख्नुभयो ।

पातारासीमा निर्माणाधीन टावर वर्षौँदेखि अलपत्र भएको र इन्टरनेट टेलिफोनले सेवाभन्दा सास्ती दिएपछि पातारासीका नागरिक आजित भएका छन् । तत्काल सञ्चार सेवा सुधारका लागि पालिका र टेलिकम कार्यालयको ध्यानाकर्षण समेत गराइएको स्थानीय अभियन्ता भक्त बहादुर बुढाको भनाई छ ।  सञ्चार सेवा सुविधा भरपर्दो र विश्वसनीय बनाउन उनको जोड छ । तत्काल सुधार नभए पालिकादेखि टेलिकम कार्यालयमा धर्ना दिने समेत बुढाको चेतावनी छ ।

जुम्लामा इन्टरनेट सेवाको क्षमता कम र प्रयोग कर्ता बढी भएपछि क्षमता वृद्धि गरेपनि अपेक्षित सुधार हुन सकेको छैन । यद्यपि, आगामी वैशाखभित्र पातारासी क्षेत्रसहित जुम्लाको इन्टरनेट र टेलिफोन सेवा सुधार हुने नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठको दाबी छ । टेलिफोनको फाइबर लाइन नभएसम्म समस्या समाधान हुने देखिँदैन ।

उहाँले भन्नुभयो,“दुर्गममा रहेका टेलिफोन टावर सोलार प्रणालीको भरमा सञ्चालित छन् । घाम नलागेसम्म चल्दैनन् । सबै टावरमा विद्युतको लाइन पुराउन आवश्यक छ । टेलिकमै अप्टीकल फाइबर लाइन विस्तार नहुन्जेलसम्म वल्डलिंकको फाइबर लिजमा लिएर सञ्चालन गर्ने तयारी छ ।”जुम्लाको इन्टरनेट र टेलिफोन सेवालाई  गुणस्तरीय बनाउन टेलिकमदेखि स्थानीय तह गम्भीर हुन जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...