पूर्णप्रसाद चौलागाई,
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका – ५ निवासी फान्चौरी परिवारले पालिका स्तरीय जेष्ठ नागरिक संघलाई निःशुल्क जग्गा दान गरेका छन् । सो पालिकाको – ५ स्थित फान्चौरमा रहेको जग्गा फान्चौरी परिवारको तर्फबाट घरमुली मनशोभा चौलागाईले संघलाई निःशुल्क जग्गा प्रदान गरेकी छन् । जग्गादाता चौलागाईका अनुसार कुलदेवता र ईश्वरको आशिर्वाद सम्झी तातोपानी गाउँपालिका जेष्ठ नागरिक संघलाई भवन ,संरचना ,उत्पादनमुलक लगायत विविध प्रयोजनका लागि निःशुल्क प्रदान गरिएको हो ।
उक्त जग्गा सोमबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवती रावत र वडाध्यक्ष छिरिङ महतको रोहोबरमा दुई हजार बीस वर्गमीटर क्षेत्रफलमा रहेको जग्गा तातोपानी जेष्ठ नागरिक संघलाई निःशुल्क प्रदान गरिएको जग्गादाता मनशोभा चौलागाईले जानकारी दिनुभयो । उक्त जग्गा चौलागाईद्वयका छोरा किरण प्रकाश चौलागाईको नाममा दर्ता रहेको छ ।
उक्त जग्गा सम्पूर्ण फान्चौरी सदस्यहरूको तर्फबाट पालिकाका नेतृत्वको उपस्थितिमा प्रदान गरिएको हो । फान्चौरी परिवार र जेष्ठ नागरिक संघ तातोपानीबीच जग्गा दिने बारे सहमति पत्रमा भनिएको छ, फान्चोरी परिवारका सदस्यहरूबाट आफ्ना कुलदेवता र इष्ट देवताको आर्शिवाद सम्झदै मान्यजन तथा प्रियजन समस्तको हित सन्तोष चिताउँदै हाम्रो आफ्नै गाउँपालिकाका विशिष्टजनको समुपस्थितिमा संघलाई राजी खुसीले दिन सहमति गर्यो ।
जेष्ठ नागरिक तथा सहयोगापेक्षी मानिसहरूको आवश्यकता तथा भविस्यमा समेत जेष्ठ नागरिकको हकहितको निमित्त उपभोगको लागि प्रदान गरिएको पनि सहमतिमा उल्लेख छ । जेष्ठ नारिक संघ तातोपानीका अध्यक्ष दलबहादुर खड्काले जग्गा प्राप्त हुँदा खुसी लागेको बताउनुभयो । उनका अनुसार अब संघको भवन बनाउने सपना साकार हुने भएको छ । गाउँपालिका अध्यक्ष चौलागाईले निःशुल्क जग्गा दान उत्कृष्ट मानवीय काम भएको बताउनुभयो ।