जुम्लामा हवाई सेवाको टिकट व्यवस्थित गरिँदै

जुम्ल। हिमाली जिल्ला जुम्लाको हवाई सेवाको टिकट व्यवस्थित गरिने भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि,एयरलाईन्सका प्रतिनिधि, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकारको उपस्थितिमा जिल्लाको हवाई टिकट प्रणालीलाई व्यवस्थापन गर्नका लागि बसेको जिल्ला स्थित सरोकारवाला निकायको बैठकमा विमानस्थलमा हरेक वायुसेवा कम्पनीले कार्यालय खोली नाम लेख्ने र पारदर्शिता कायम गर्ने, सम्पूर्ण वायूसेवा कम्पनीले भोलि पल्टको उडानको टिकट अघिल्लै दिनमा वितरण गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभयो ।
वायूसेवा कम्पनीले १० सिट सर्वसाधारणका लागि विरामी अशक्त, सुरक्षाकर्मी र अन्य ईमरजन्सि काम परेका व्यक्तिका लागि सिट सुरक्षित गरिने भएको छ ।   सिता एयरलाईन्सको हकमा भने ७ सिट सर्वसाधारणका लागि एक दिन अगावै वितरण हुने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो । सर्वसाधारण नागरिक र आन्तरिक पर्यटकका लागि समेत टिकट पाउन अब सहँज हुने विश्वास गरिएको प्रजिअ घिमिरेको भनाइ छ ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कुनैपनि हालतमा वीमानस्थलको गेट वाहिर कार्यालय खोल्नुपर्ने र टिकट वितरणमा पारदर्शिता हुनुपर्ने बताउनुभयो । हवाई उडान क्षेत्रको टिकट प्रणालीलाई सर्वसाधारणको पहुँचसम्म पुग्नुपर्ने आजको आवश्यकताको विषय हो । पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गरी कार्यान्वयमा ल्याउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको भनाइ छ ।
लामो समयदेखी जहाजको टिकट वितरण प्रणालीमा सहज नहुँदा यहाँका नागरिकले सास्ती खेपिरहेको स्थानीय पत्रकार पुर्णप्रसाद चौलागाईले बताउनुभयो । नेपालगंजदेखी जुम्लासम्म हप्ताको एक पटक नेपाल वायुसेवाको एयरलाईन्स र नियमित रुपमा समिट एयरले उडान गर्दे आएकाछन् ।  सिता, तारा एयरले समेत जुम्लाका लागि उडान भर्दै आएका छन्  ।




तपाईको प्रतिक्रिया