
काठमाडौ । क्यान्सरका बिरामीको उपचारका लागि संसारमै उपयोगी मानिएको आधुनिक उपकरण टोमोथेरापी सेवा वीर अस्पतालमा सुरु भएको छ । सोमबार एक बिरामीको क्यान्सरको घाउ सेकेर (रेडिएसन दिएर) सेवा प्रारम्भ गरिएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले मंगलबारदेखि टोमोथेरापी सेवालाई बढाउँदै लगेर दिनमा ३० जनासम्मको उपचार गर्ने व्यवस्था मिलाउने बताए । ‘हामीले टोमोथेरापी सेवा सुरु गरिसकेका छौँ, सोमबार एकजना बिरामीले यसबाट उपचार सेवा लिनुभयो, अब मंगलबारदेखि यो सेवा विस्तार हुन्छ,’ उनले भने, ‘यो मेसिनका कारण क्यान्सरका बिरामीलाई ठूलो राहत मिल्नेछ ।
डा. बस्नेतले मेसिनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्राविधिक व्यवस्थापन सहज भइसकेकाले बिरामीले सहजै लाभ लिन सक्ने बताए । तर, यसलाई कसरी सञ्चालन गर्ने, दररेट कति राख्ने, कुन–कुन समयमा सेवा दिनेलगायतबारे गृहकार्य भइरहेको छ ।
टोमोथेरापी क्यान्सरको उपचार गर्ने संसारकै अत्याधुनिक उपकरण हो । गत १८ भदौमा सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड सप्लायर्सले अकुरे कम्पनीको नयाँ ‘टोमोथेरापी’ अस्पताललाई हस्तान्तरण गरेको थियो । यसको खरिद मूल्य ४० करोड हो । तर, प्राविधिक जनशक्ति अभावको समस्या देखाउँदै अस्पतालले मेसिन सञ्चालनमा ढिलो गरेको छ । अब भने सञ्चालनको तयारी पूरा भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
टोमोथेरापी उपकरणद्वारा शरीरका भित्री कोष तथा नलीहरूमा हुने सूक्ष्म क्यान्सरको समेत उपचारमा यो मेसिन निकै प्रभावकारी मानिन्छ । यो रेडियोथेरापीभन्दा फरक छ । यो उपकरणबाट निस्किने विकिरण (रेडिएसन)ले क्यान्सर लागेको ठाउँका सेलहरू मात्रै मार्छ । यसले कपालको रौँबराबरको कोषहरूलाई छुट्याएर क्यान्सर लागेको र नलागेको वर्गीकरण गर्न सक्छ भने यसको प्रयोग गर्दा क्यान्सरले नछोएका सेलहरू मर्ने सम्भावना नहुने चिकित्सकहरूको भनाइ छ ।
तर, रेडियोथेरापीमा क्यान्सर लागेको ठाउँमा विकिरण पठाउँदा अन्य ठाउँका सेल पनि मार्ने धेरै सम्भावना हुन्छ । रेडियोथेरापीमा कतिपय अवस्थामा क्यान्सर निको भएको ठानिए पनि फेरि ब्युँतिने डर हुने गरेको छ । तर, टोमोथेरापीको प्रयोग गरेर विकिरण दिँदा क्यान्सर पूर्ण निको हुने बताइन्छ ।
यो मेसिन सुरुमा ०७५ मै ल्याइएको थियो । तर, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा राखियो । त्यहाँ राख्दा मेसिनमा खिया लागेपछि बिग्रियो । अस्पतालले सप्लायर्स कम्पनीसँग मेसिन अस्वीकार गर्ने निर्णय गरेपछि गत भदौमा नयाँ मेसिन ल्याइदिएको हो । महँगो शुल्क तोकिँदै
नेपालमा टोमोथेरापी मेसिनको प्रयोग गर्न चाहने बिरामीले डेढ लाख रुपैयाँ तिर्नुपर्ने व्यवस्था अस्पतालले गर्दै छ । वीरमा आउने बिरामीमध्ये अधिकांश विपन्न तथा आर्थिक हैसियत कमजोर भएका आउँछन् । तर, शुल्क महँगो राख्दा बिरामी मारमा पर्ने तथा उपचार सेवा नै लिन नसक्ने अस्पतालका चिकित्सकहरू नै बताउँछन् ।
अत्याधुनिक मेसिन त आयो, तर यसको शुल्क निकै महँगो तोक्न लागिएको छ, सरकारले नै खरिद गरेको उपकरणबाट सस्तोमा सेवा दिनुपर्छ,’ उनले भने, ‘डेढ लाख तिरेर गरिब उपचार गर्न आउँदैनन् ।’ तर, न्याम्सका उपकुलपति डा. बस्नेतले अन्य देशको तुलनामा डेढ लाखमा सेवा दिनु सस्तो रहेको बताए ।




हाम्रो कर्णाली । ३ पुष २०८०, मंगलवार १०:४१