
पूर्ण चौलागाईँ, जुम्ला १ पुस ।
विरामीको सहजताका लागि कृषि विकास बैंक जुम्लाको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘ तातो चिसो पानी आउने मेसिन जडान गरिएको छ । सो बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रतिष्ठानलाई झण्डै पाँच लाख मूल्य पर्ने चिसो, तातो र मनतातो पानी आउने मेसिन जडान गरिएको हो ।
आइतबार बैंकका कर्णाली प्रदेशका प्रादेशिक निर्देशक डाक्टर सुरज टण्डनले प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतलाई तातो, चिसो र मनतातो पानी आउने मेसिन हस्तान्तरण गरेका हुन् ।
मेसिन दिउँद र वर्खा समयको लागि उपयुक्त हुने छ । वित्तिय साक्षरता कार्यक्रमसंगै प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गरिएको कृषि विकास बैंक जुम्ला शाखाका प्रमुख खम्बीलाल शर्माले बताए । जुम्लामा चिसो क्रमिक बढ्दो छ । बृद्धबृद्धा, महिला, बालबालिकाहरु चिसोबाट बढी प्रभावित छन् । उनले भने, “अब अस्पताल आउने विरामीले चिसो तातो र मनतातो पानी पिउने छन् । बढ्दो चिसो मौसमले प्रभावित विरामीहरुलाई मेसिनले राहत प्रदान गर्ने आशा छ ।”
बैंक तथा बित्तिय संस्थाले कुल नाफाको केहि रकम अनिवार्य सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान छ । अधिकांश बैंक वित्तिय क्षेत्रले नागरिकको बृहत्तर हितका लागि लगानी गरेको पाईदैन् ।
तर कृषि विकास बैंकले नमुना कार्यका रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रतिष्ठानलाई तातो चिसो पानी आउने मेसिन हस्तान्तरण गरेको छ । बैंक र प्रतिष्ठान एक आपसमा विगत एक दशकदेखि समन्वय सहकार्य गर्दै आएका छन् ।
बढ्दो विरामीको चाप र चिसो मौसमलाई मध्यनजर गर्दै अस्पतालमा ५ लाखबढी लगानीको तीन सय लिटर क्षमताको वाटर वर्ड मेसिन हस्तान्तरण गरिएको कृषि विकास बैंक लिमिटेड कर्णाली प्रादेशीक निर्देशक सुरज टण्डनले बताए । उनका अनुसार आगामी दिनमा बैंकले दुर्गम क्षेत्रका नागरिकको हितका लागि लगानी गर्ने छ । बैंकले विश्वसनीय छिटो छरितो सेवा प्रवाहसंगै सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिने दाबी गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानमा अत्याआबश्यक रहेको चिसो तातो पानी आउने मेसिन प्राप्तसंगै राहत भएको बताए । अन्य समय भन्दा चिसो समयका लागि अझ बढी प्रभावकारी हुने छ ।
उनले भने, “अस्पतालमा विरामीको चाप बढ्दो छ । हरेक वार्डमा सानो क्षमताको पानी आउने मेसिन राखिएको छ । तर त्यसले माग अनुसार पुर्ति छैन् । कृषि विकास बैंकबाट प्राप्त मेसिनले ठुलो संख्यामा विरामीलाई राहत मिल्ने छ । यसको संरक्षण र दिगो व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।”
२०२४ सालमा स्थापना भएको कृषि विकास बैंकले सुगमदेखि दुर्गमसम्म बैंकिङ सेवालाई विस्तार गर्दै आएको छ । सेवाग्राहीमा देखिएको अन्यौलता कम गर्न तथा सेवालाई चुस्त र छिटो छरितो बनाउन नियमित बित्तिय साक्षरता कार्यक्रम समेत गर्दै आएको बैंकले जनाएको छ




हाम्रो कर्णाली । १ पुष २०८०, आईतवार १९:१८