पूर्ण चौलागाईं जुम्ला।
भित्राउन लागेकै बेला एक्कासी संक्रमण भएको नेक ब्लाष्ट रोगले जुम्ला तातोपानीको ८० हेक्टर धानबालीमा क्षति भएको छ । तातोपानी गाउँपालिका वडा नं.४,५ र ६ तथा चन्दननाथ ९ को ८० हेक्टर मार्सीफाँटको धानबाली सखाप भएको हो । सबैभन्दा धेरै तातोपानी ५ स्थित लाम्रा,नगर,एैरेनी हाँक,हियाँखोलाका किसानले उपभोग गर्ने खेतको धानमा क्षति भएको छ ।
ठुलो क्षेत्रमा रोगले संक्रमण गरेर धानमा क्षति भएपछि सोमबार जिल्ला प्रहरी प्रशासन,समन्वय प्रमुख,राजनीतिक दल,कृषि विज्ञ तथा पत्रकारले संयुक्त स्थलगत अनुगमन गरेका छन् । नेट ब्लाष्ट रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले अप्रत्यासी ठुलो क्षति व्यहोर्नु परेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए ।
एतिहासमा मार्सीधान यति ठुलो क्षति भएको यो पहिलो पटक हो । उनले भने,“पालिकाबाट राहत दिएर संम्भव छैन् । दिन पनि सकिदैन् । जिल्ला विपद व्यवस्थापनको बैठक बसेर,कार्यपालिका बैठक राखी किसानको राहत र पुर्नस्थापनाका लागि पहल गर्छौ ।”
“सयौ किसान घर न घाँट भएका छन् । पसिनाको कमाई बालुवामा मिसियो । किसानको पिडा बुझ्छौ । तर हामीसंग स्रोत छैन् । सिमित स्रोतले आधारभुत विकास गर्दै ठिक्क छ । विगतमा असिना पानीले केहि मात्रामा झारेपनि यसरी ठुलो मात्रामा क्षति भएको पहिलो पटक हो । सहन नसक्ने क्षतिले किसान क्षतविक्षत छन् । किसानको पिडामा मलम लगाउन जुटिरहेका छौ ।” अध्यक्ष चौलागाँईले भने ।”
क्षेत्रफलका हिसाबले ८० हेक्टर मार्सीफाँटको धानबालीमा क्षति भएको भनिएपनि एकिन विवरण आउँन बाँकी छ । यदपी,उत्पादन शुन्यमा झरेको पक्का भईसकेको छ । किसानले सबै खेतमा आगो सल्काउने तयारी गरेका छन् । खेत हेरेर रुनुको विकल्प छैन् । लहलह झुल्ने मार्सीधानका बाला यतिबेला चाउरीएका छन् । विश्व बजारमा माग बढेको मार्सीधानमा बढ्दो संक्रमणले किसानमात्र नभई पहिचान समेत संकटमा परेको किसान बिज्या सार्कीले बताए । उनका अनुसार प्रदेश र संघिय सरकारले उचित राहत बेलैमा नदिए किसानको उठिबास हुने निश्चित छ ।
जुम्लामा वर्षेनी कतै न कतै मार्सीधानमा ब्लाष्ट रोग लाग्ने गरेको कृषि विज्ञ बताउँछन् । यो वाताबरणिय प्रभावका कारणले फैलिने प्रकोप हो । ब्लाष्ट रोगबारे जुम्लाका सबै किसान जानकार पनि छन् । धानमा लाग्ने ब्लाष्ट रोग ३ प्ररकारका हुन्छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख
बालकराम देवकोटा भन्छन,“एउटा लिप ब्लाष्ट (पातमा) हुने संक्रमण हो । यो नियन्त्रणमा लिन सकिन्छ । दोस्रो फिंगर ब्लाष्ट (धानको डाँढमा) लाग्ने रोग हो । यसलाई नियन्त्रण गर्न सकिन्छ । तेस्रो ब्लाष्ट रोग भनेको नेक ब्लाष्ट (घाँटी मरुवा) अर्थात धानको बालामै लाग्ने रोग हो । यसले बाला चाउने,पोटिलो नहुने,धानमा दुध नभरिदै झर्ने समस्या हुन्छ । यो अन्तिम अबस्थामा लाग्ने रोग भएकोले पनि नियन्त्रणमा समस्या छ ।”
काँचो मल,विउँ राखेको बर्ना,सिँचाई असुविधा,अत्यधिकब वर्षा लगायतका कारणले यस्तो समस्या निम्तीने गर्दछ । उन्नत जातको धानमा ब्लाष्ट रोगले कुनै असर नगरेको भन्दै रैथाने मार्सीधानको जातमा रोग प्रतिरोधात्मक क्षामतानै कम भएको कृषि अनुसन्धान केन्द्रका प्रमुख बैज्ञानिक शुसिलराज सुवेदीले बताए । नेट ब्लाष्ट (घाँटी मरुवाँ) रोगले धानमा क्षति भएको छ । उनले भने,“ नेक ब्लाष्ट घाँटी मरुवा रोगसंग लड्ने क्षामता मार्सीधानमा छैन् । यस वर्षपानी पनि बढी पर्यो । धानको फूल फूल्ने बेलामै पानी पर्यो । सापेक्षिक आद्रता बढी भएपछि यो रोगको प्रकोप फैलिएको हो ।”
यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत दलका प्रतिनिधिले तत्काल जिल्लामा विपद्को बैठक बसेर किसानको राहतका लागि पहल गर्ने बताएका छन् ।